प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान |

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिवार साँझ संयुक्तराज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् । उनी संयुक्त राष्ट्रसंघको ७३औं महासभामा भाग लिन त्यसतर्फ प्रस्थान गरेका हुन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिदाइ गरेका थिए ।
संयुक्त राष्ट्रसंघको महासभालाई प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महासभा आगामी मंगलवारदेखि आरम्भ हुँदै छ ।
उनको बिदाइका लागि उपप्रधानमन्त्री उपेन्द्र यादव, मन्त्रीगण, नेकपाका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत र सुरक्षा अंगका प्रमुखलगायत विमानस्थल पुगेका थिए ।
प्रम ओलीको अमेरिका प्रस्थानका अवसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । महासभाले यस वर्षका लागि ‘संयुक्त राष्ट्र संघलाई सबै जनतासँग सम्बन्धित, शान्ति र न्यायपूर्ण एवम् दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी (संस्था) बनाउने’ नारा तय गरेको छ । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको शताब्दीऔं जन्मदिवसका अवसरमा आयोजना हुने ‘नेल्सन मन्डेला शान्ति शिखर बैठक’लाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री ओली तथा श्रीमती राधिका शाक्यसमेत सहभागी हुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीको भ्रमणदलमा श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, पराष्ट्रसचिव शङ्करदास वैरागी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।