निजि क्षेत्रका जहाजलाई पनि अन्तरराष्ट्रिय उडानको अनुमति दिइने |

काठमाडौंं । सरकारले निजि क्षेत्रका हवाई सेवा प्रदायकलाई अन्तरराष्ट्रिय उडान भर्न दिने भएको छ । असोज ५ को मन्त्रिपरिषद्को बैठकले अन्तरराष्ट्रिय हवाई सेवा संचालनका लागि इजाजत प्रदान गर्ने सम्बन्धि कार्यविधि २०७५ स्वीकृत गर्दै निजि क्षेत्रका हवाई सेवा प्रदायकलाई समेत अन्तरराष्ट्रिय उडान भर्न दिने निर्णय गरेको हो ।
सरकारको उक्त निर्णयसंगै मापदण्ड पुगेका हवाई सेवा प्रदायकहरुले समेत अबदेखि अन्तरराष्ट्रिय उडान भर्न पाउनेछन । हाल नेपालमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । यसबाहेक चिनीया लगानी सहितको हिमालय एयरलाईन्सले पनि अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।
अन्तरराष्ट्रिय उडान भर्न नियमित ५ बर्ष उडान भरिरहेको हुनुपर्ने मापदण्डमा उल्लेख छ । उक्त मापदण्ड अनुसार आन्तरिक उडानमा सिमित भएका बुद्ध , सिता र सिम्रिक एयरले अबदेखि अन्तरर्राष्ट्रिय उडान भर्न सक्ने छन ।
त्यस्तै सरकारले नागरिक उड्डयन प्राधिकरण संचालन नियमन सम्बन्धि नयाँ ऐन ल्याउन र तर्जुमा गर्न स्वीकृति दिइएको छ । सरकारले बायुसेवा कम्पनीहरुको नियामक नागरिक उड्डयन प्राधिकरणलाई संचालन र नियमनको जिम्मेवारी अलग्ग्याउनका लागि यस्तो निर्णय गरेको हो ।
हाल प्राधिकरणले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल संचालन गर्दै आएको छ भने बायुसेवा कम्पनीहरुलाई नियमन समेत गर्दै आएको छ। नियमन र संचालन प्राधिकरण एक्लैले गर्दै आएको बिषयलाई युरोपियन कमिशनले समेत मुद्दा बनाउदै आएको छ। सरकारको यस निर्णयले नेपालको जहाजलाई कालोसुचिमा राखेको इयुले आफ्नो निर्णय पुनरावलोकन गर्ने अपेक्षा गरिएको छ ।