नारायणगढमा सानिमाको शाखा, अब २० शाखा थप्ने | अर्को वर्ष सर्वसाधारणका लागि आईपीओ निष्कासन
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले नारायणगढमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले गरेका हुन् ।
सो अवसरमा कम्पनीका संचालक खेमराज लामिछाने, निमित्त कार्यकारी प्रमुख सुवोधलाल श्रेष्ठ तथा बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेल उपस्थित थिए ।
उक्त कम्पनीले चालू वर्ष २० वटा शाखा खोल्ने लक्ष्य लिएको छ । कम्पनीले सबै प्रकारका निर्जीवन बीमा मोटर, घर, कलकारखाना, जलविद्युत्, कृषि तथा पशुबीमा र लघुबीमा सेवा उपलब्ध गराउनेछ ।
उद्योगी व्यवसायीहरू, बैंकर्स तथा गैरआवासीय नेपालीहरूको लगानी रहेको कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँ छ । जारी पूँजी १ अर्ब र चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । कम्पनीले आगामी आर्थिक वर्षभित्र ३० करोडबराबरको शेयर सर्वसाधारणका लागि जारी गरी चुक्तापूँजी १ अर्ब पुर्याउने लक्ष्य राखेको छ ।