स्थानीय तहलाई आगामी वर्षदेखि मात्र कर बढाउन अर्थमन्त्रीको आग्रह | सरकारलाई निजीक्षेत्रको प्रतिस्पर्धी नठान्नुस् : अर्थमन्त्री
पोखरा । अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय तहलाई कर बढाउन हतार नगर्न र आगामी वर्षदेखि मात्र बढाउन आग्रह गरेका छन् । उनले पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशनका अवसरमा त्यस्तो आग्रह गरेका हुन् ।
उनले उनले भने, ‘सरकारलाई तिरेको करको सदुपयोग हुन्छ र विकास सुनिश्चितता हुन्छ भन्ने विश्वास आमजनतालाई दिलाएर मात्र कर बढाउनुस्, अनि आगामी वर्षबाट मात्र कर बढाउनुस् ।’
कर लगाउँदैमा विरोध नगर्नसमेत आमनागरिकलाई उनको आग्रह छ । उनको भनाइ थियो, ‘सडक बनाउनुपर्यो, ढल बनाउनुपर्यो, पानी, बत्तीलगायतका सुविधा दिनुपर्यो, सुरक्षा दिनुपर्यो, यसो गर्दा सम्पत्तिको मूल्य सयौं गुणा बढ्छ, बढेको मूल्यको १ प्रतिशत सरकारले माग्छ भने त्यो जायज नै हो, त्यसको विरोध नगरौं ।’
विकासोन्मुख पालिकाहरूमा कर कार्यालय स्थापना गर्ने सरकारको तयारी रहेको उनले खुलासा गरे । कर सरलीकरण गर्न, करदातालाई उत्साहित बनाउन चाँडै अभियान थाल्ने उनले बताए । सरकारले कर लिने ठाउँमा एक रुपैयाँ पनि नछोड्ने र लिन नपर्ने ठाउँमा एक रुपैयाँ पनि नलिने उनले स्पष्ट पारे ।
अर्थमन्त्री खतिवडाले उज्यालोमा कर तिर्न आग्रह गरे । कुलमान घिसिङको नेतृत्वमा नेपालमा उज्यालो आएकाले अब अँध्यारोमा कर तिर्ने बानी सुधार्न उनको आग्रह थियो । उनले भने, ‘उज्यालो भएपछि उज्यालोमै कर तिर्नुर्पयो, अँध्यारोमा कारोबार गर्नु भएन । यसो भयो मात्रै सबैतिर उज्यालो छाउँछ, विकास र समृद्धि आउँछ ।
अर्थमन्त्री डा. खतिवडाले सरकार निजी क्षेत्रको प्रतिस्पर्धी हो भन्ने नठान्न आग्रह गर्दै निजीक्षेत्रलाई सरकारले सहजीकरण गरेर अगाडि बढाउने बताए । निजी क्षेत्र नआउञ्जेल सरकारले लगानी गरेर थालनी गर्ने हो, निजी क्षेत्र आउने बित्तिकै सरकारले हात झिकेर बाटो देखाइदिने उनको भनाइ थियो ।
कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल लोडसेडिङभन्दा पनि विद्युत् खपत बढाउने चुनौती मुख्य भएको बताए । उनले लोडसेडिङ नभए पनि विद्युत् आपूर्तिमा आएको प्राविधिक समस्याका कारण बत्ती जाने गरेको र यो समस्या पनि चाँडै निराकरण हुने जानकारी दिए । त्यसका लागि फिडर परिवर्तन, सब स्टेशन निर्माणलगायतका काम भइरहेको उनले बताए ।