सुरु भयो फर्निचर तथा फर्निसिङ एक्स्पो, यस्तो देखियो मेलाको रौनक |

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा छैठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो ˋफर्नेक्स २०१८’ आजबाट शुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा हुन लागेको एक्स्पोको उद्घाटन नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले गरेका थिए ।
एक्स्पो उद्घाटन गर्दै चेम्बर अध्यक्ष श्रेष्ठले एक्स्पोले उपभोक्ताहरु लाई छनौटको अवसर दिएको बताए । नेपालमा ७ अर्व रुपैयाँ बराबरको काठ आयात भई रहेको बताउदै श्रेष्ठले फर्निचरको कच्चा पदार्थको भन्सार महशुल कम गर्नु पर्ने बताए । काठमाडौँ –तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) मा २ लाख रुख कटान हुने भन्दै त्यो फर्निचर व्यवसायीहरु लाई सहजरुपमा उपलब्ध गराउन सरकारसँग आफुले पनि पहल गर्ने बताए ।

नेपाल फर्निचर तथा फर्निसिगं व्यवसायी महासंघका अध्यक्ष भुपेन्द्र गिरीले मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन स्वदेशमा खेर गईरहेको कच्चापदार्थको सदुपयोग गर्न आफुहरुलाई बाटो खोलिदिन आग्रह गरे । नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष राजेशकुमार अग्रवालले आफुहरु अन्तरराष्ट्रियस्तरको उत्पादन तयार गर्न सक्ने बताए ।
प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी कम्पनीहरु सहभागि भएको एक्स्पोमा नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनी भई रहेको छ । एक्स्पो ५ दिनसम्म चल्ने छ । नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लियरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु बिक्री वितरण हुने बताइएको छ ।



