बेनी–जोमसोम अवरुद्ध सडक एक हप्तापछि खुल्यो, पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने |

काठमाडौं । बेनी–जोमसोम सडक एक हप्तापछि खुलेको छ । उक्त सडक खण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाट खण्डमा सडक रघुगंगा नदीले यही भदौ २७ गते करीब ३० मीटर सडक बगाएर अवरुद्द भएको थियो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाले रघुगंगाले कटान गरेर सडक बगाएको ठाउँमा खोला फर्काउनुका साथै पहाड काटेर सवारी साधन आवतजावत गर्न मिल्ने बनाएको छ । मर्मतपछि बेनी–देखि काभ्रेभीरसम्मको खण्डमा सवारीसाधन सञ्चालन गर्न सकिने भएको आयोजनाले जानकारी दिएको छ । काभ्रेभीरमा अवरुद्ध सडक खुलाउन भने विस्फोटक पदार्थ प्रयोग गरिने भएको छ ।
सवारी साधन सञ्चालनमा आए पनि पूर्णरूपमा सञ्चालनमा आउन अझै केही दिन लाग्न सक्ने आयोजनाले बताएको छ । मुस्ताङ खण्डको अवरुद्ध सडकसमेत मर्मत गरिएको छ । बाढीले लेते खोलाको बेलिब्रिजको जगलाई जोखिमयुक्त बनाएपछि सो खोलाको पानी बहने मार्ग मोडिएको छ ।
उक्त सडक अवरुद्ध हुँदा स्थानीयवासी, पर्यटक र तीर्थयात्री समस्यामा परेका थिए भने मुस्ताङमा उत्पादन भएको स्याउ ढुवानीमा पनि समस्या भएको थियो ।