पाकिस्तानको अदालतले पूर्वप्रधानमन्त्री शरिफलाई रिहा गर्ने आदेश दियो |

एजेन्सी⁄इस्लामाबाद । पाकिस्तानको एउटा अदालतले भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरेपछि कैद काटिरहेका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई रिहा गर्न आदेश दिएको छ । बिबिसिका अनुसार शरिफले जेलसजाय काट्न शुरू गरेको दुई महिनापछि अदालतले यस्तो आदेश दिएको हो ।
निर्वाचन भएको केही समयपछि अदालतले गत जुलाइमा उनलाई र उनकी छोरी मरियमलाई भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरी दुबैलाई यसअघि सुनाइएको फैसलालाई रद्द गरेको छ ।
पुनरावलोकनका लागि उनीहरूले दिएको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले पछिल्लो आदेश दिएको हो । दुवैजनाले गलत काम गरेको भन्ने आरोप अस्वीकार गर्दै आएका छन्। । शरिफकी क्यान्सरपीडित श्रीमती कुलसूम नवाजको उपचारका क्रममा लण्डनमा निधन भएको एक हप्तापछि अदालतको आदेश आएको छ ।
अन्तिम संस्कारमा सहभागी हुन बुवा र छोरीलाई अनुमति दिइएको थियो । तर फेरि उनीहरूलाई जेल पठाइएको थियो ।
मध्यलण्डनस्थित चारवटा विलासी सम्पत्तिको स्वामित्वसम्बन्धी भ्रष्टाचारको मुद्दामा गत जुलाईमा शरिफ दोषी ठहर भएका थिए । उनले आफूविरुद्धको अभियोग राजनीतिक रूपले अभिप्रेरित भएको बताउने गरेका छन्। ।