ढुवानीकर्ता र चालकद्वारा पेट्रोलियम पदार्थको ढुवानी पुनः ठप्प | सम्झौताअनुसार काम नगरे सम्झौता रद्द गर्ने निगमको चेतावनी
काठमाडौं । नेपाल आयल निगममा पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका ढुवानीकर्ता तथा चालकहरूले असोज २ गतेदेखि पुनः अवरोध गरेका छन् । मुलुकी संहिताका कतिपय प्रावधानले अन्याय पर्ने भन्दै देशभरका सवारी चालकहरू त्यसको संशोधनको माग राख्दै आन्दोलनमा उत्रिरहेको बेला निगमसम्बद्ध ढुवानीकर्ताहरूले पनि सोही आन्दोलनलाई समर्थन जनाउँदै पेट्रोलियम पदार्थ बोक्न छाडेका हुन् ।
यसअघि निगमका ट्यांकरका चालकहरूले तलब–भत्ता वृद्धि, सञ्चयकोष, ट्रिप भत्तालगायत माग राखेर आपूर्ति ठप्प पारेका थिए । आपूर्ति ठप्प पारेपछि निगमले चालकका त्यस्ता मागहरू पूरा गरिदिएको थियो । आन्दोलित चालकहरूले पीडीओ नलिने, आईओसीमा लोड लिन नजानेदेखि विक्री वितरणमा सहयोग नगर्नेलगायतका गतिविधि ढुवानीकर्ता तथा चालकहरूले सञ्चालन गर्दै आएका छन् ।
निगमले एक विज्ञप्ति जारी गर्दै चालकहरूका माग पूरा गरिसकेको सन्दर्भमा पुनः ठप्प पार्नु गम्भीर विषय भएको भन्दै नियमित काममा फर्कन ढुवानीकर्ता तथा चालकहरूलाई आग्रह गरेको छ । साथै, निगमले सम्झौताअनुसार काम नगर्ने ढुवानीकर्ता तथा चालकहरूलाई सम्झौता रद्द गर्नेसम्मको कारबाही गर्न सक्ने चेतावनीसमेत दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पेट्रोलियम पदार्थको प्रतिकूल प्रभाव पार्नेगरी पीडीओ नलिने, आईओसीमा लोड लिन नजाने, डीपोमा लोज लिएर नआउने, विक्री वितरणमा सहयोग नगर्नेलगायतका कार्यहरु गरेको पाइएमा सम्बद्ध सबै पक्षलाई निगमको विनियमावलीबमोजिम दायित्व पूरा नगरेको मानी ढुवानी सम्झौता रद्द गर्नेसम्मको कडा कारबाही गरिने जानकारी गराइन्छ ।’