प्रदेश २ मा ५ हजार बालिकाको शिक्षा विमा गरिने |
काठमाडौं । प्रदेश २ मा ५ हजार बालिकाको शिक्षा विमा गरिने भएको छ । चालु आर्थिक वर्षको बाँकी १० महिनामा ५ वर्ष मुनीका ५ हजार बालिकाको शिक्षा विमा गरिने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन ।
क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित मदरसामा अनवारुल उलुमले आयोजना गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा मुख्यमन्त्री राउतले त्यस्तो बताएका हुन । ‘पहिलो चरणमा दलित, मुस्लिम र विपन्न परिवारका बालिका प्राथमिकतामा राखिनेछ ।’ राउतले भने, ‘प्रदेशका सबै बालिकाको विमा गर्ने लक्ष्य हाम्रो हो । तर चालु आर्थिक वर्षमा ५ हजार वालिकाको विमा गराउँछौं ।’
प्रदेश २ मा मुस्लिम समुदायको अवस्था दलित भन्दा पनि पछाडि रहेको उल्लेख गर्दै छोरा छोरीलाई समान शिक्षा दिन आग्रह गरे । ‘हाम्रो सोचमा अझै परिवर्तन आउन सकेको छैन । छोरा र छोरीलाई समान व्यवहार गरिँदैन’ उनले भने, ‘यसैले पनि हामी पछाडि परेका छौं, अबको हाम्रो सोच समान शिक्षातर्फ अग्रसर हुनुपर्छ । तब मात्रै समाजलाई अगाडि बढाउन सक्छौं ।’ मुख्यमन्त्री राउतले यसै वर्ष प्रत्येक जिल्लामा एकरएक हजार साइकल वितरण गर्ने योजना रहेको उनले बताए ।