मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यू हुनेको सङ्ख्या ६ पुग्यो | १७ जना नेपाली गम्भीर बिरामी
मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या ६ पुगेको छ । मदिरा सेवनबाट मंगलबार ४ नेपालीको मृत्यु भएको थियो । आज थप दुई जनाको ज्यान गएको हो । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन्। ।
उनीहरू मलेसियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिएका छन् । मलेसियाको राजाको जन्मोत्सवको अवसरमा दिइएको सार्वजनिक विदाको दिन उनीहरुले मदिरा सेवन गरेका थिए । मदिरा सेवन गरेकाहरुमा सास फेर्न गाह्रो हुने, वान्ता हुने जस्ता लक्षण देखिएको थियो । त्यसलगत्तै उनीहरुलाई अस्पताल पु¥याइएको थियो ।
सुनगाई बुलोच अस्पतालमा पाँच जनाको र काजङ अस्पतालमा एक जनाको मृत्यु भएको हो । बिरामी परेकाहरुमध्ये सुनगाई बुलोच अस्पतालमा ९ जनाको र काजङ अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ । व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा पनि एक–एक जनाको उपचार भइरहेको मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ । बिरामी परेकाहरुमध्ये अधिकांशको अवस्था गम्भीर छ ।
मलेसियामा विषाक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा घाइते भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले दुई टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको छ ।