२० लाखको आईपिओ निकाल्दै जनसेवी लघुवित्त |
काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्थाले चार करोड २० लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ४ लाख २० हजार कित्ता आईपिओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएकोे छ ।
२०७२ आश्विन १२ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी २०७२ कार्तिक २२ गते पर्वत जिल्लाको कुस्माबाट कारोवार सञ्चालन गरेको यस वित्तीय संस्थाको हाल अधिकृत पूँजी ३० करोड र जारी पूँजी १४ करोड रहेकोमा संस्थापकबाट ९ करोड ८० लाख चुक्ता भईसकेको छ ।
कम्पनीको शेयर बिक्रि प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आइपिओ जारी गरेपछि कम्पनीको चूक्ता पूँजी १४ करोड रुपैया पुग्नेछ ।
हाल वित्तीय संस्थाको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहूँ, लम्जुङ्ग र गोर्खा गरी १० जिल्ला कार्यक्षेत्र छ । संस्थाले २१ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दे आएको छ ।
चालु आर्थिक बर्षमा संस्थाले थप ६ जिल्लामा गरी कुल शाखा संञ्जाल ३२ पुर्याउने लक्ष्य राखेको छ ।