तामाकोशी पाँचौंमा लगानी गर्न एशियन इन्फ्र्यास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक सहमत | लगानी १५ अर्ब रुपैयाँ

काठमाडौं । एशियन इन्फ्र्यास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक (एआईआईबी) १ सय मेगावाट क्षमताको तामाकोशी पाँचौं जलविद्युत आयोजनाका लागि १५ करोड डलर अर्थात् १५ अर्ब रुपैयाँ ऋण लगानी गर्न सहमत भएको छ । उक्त आयोजनामा ऋण लगानी गर्न एआईआईबी सहमत भएकाले अर्थ मन्त्रालयले ऋण लिन प्रक्रिया अघि बढाएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन् ।
आयोजना नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गर्न लागेको हो । आयोजना सन् २०१९ को मध्यबाट निर्माण शुरू भई सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । कम्पनीले आयोजना निर्माण, व्यवस्थापन र सुपरिवेक्षणको काम शुरू गर्न परामर्शदाता नियुक्तिको प्रक्रियासमेत शुरू गरिसकेको जानकारी दिएको छ ।
परामर्शदाताका लागि तामाकोशीले आशयपत्र (ईओआई) मागेको छ । आशयपत्र पेश गर्ने परामर्शदाताबीच प्रतिस्पर्धा गराई छनोट हुने परामर्शदाताले ल्याह्मेयर इण्टरनेसनले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को पुनरवलोकन गर्नुका साथै इञ्जिनियरिङ प्रक्योरमेन्ट कन्ट्रयाक्ट (ईपीसी) को बोलपत्र डकुमेण्ट बनाउने छ ।