पोखरा–बागलुङ सडक असोज २० गतेसम्म ७ घण्टा बन्द |
काठमाडौं । मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड दैनिक ७ घण्टा बन्द हुन थालेको छ । उक्त सडक खण्डको मर्मतसुधार तथा फराकिलो बनाउने कार्य भइरहेको हुँदा यही असोज २० गतेसम्म दैनिक ७ घण्टा बन्द गर्नुपरेको मध्यपहाडी लोकमार्ग आयोजनाले जानकारी दिएको हो ।
पर्वतको सिमाना अँधेरीखोलादेखि खहरेगेटसम्म असोज १ गतेदेखि दैनिक ७ घण्टा बन्द गर्न थालिएको हो । लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवादेखि बेतनीबीचको माहुरी भीर र दोबिल्लादेखि चुवासम्मको चुवा भीरमा सडक फराकिलो बनाउने कार्य भइरहेको छ । उक्त सडकमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म दुई घण्टा, दिउँसो १ बजेदेखि ४ बजेसम्म ३ घण्टा र साँझ ६ बजेदेखि राति ८ बजेसम्म २ घण्टा सडक बन्द गरिएको निर्माण कम्पनी लामा कन्स्ट्रक्सन कम्पनीले जानकारी दिएको छ ।
असोज २० देखि दशैं शुरू हुने र मुक्तिनाथ पुग्ने पर्यटकको चाप पनि बढ्ने भएकाले सडक बन्द नगरिने निर्माण कम्पनीले बताएको छ । आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलव ७६ किलोमिटर सडक स्तरोन्नतिको काम उक्त कम्पनीले निर्माण गर्ने जिम्मा पाएको छ । अहिलेसम्म १५ प्रतिशत काम सकिएको उक्त सडक खण्डको सबै ठाउँबाट काम शुरू गरिएको र दशैंतिहारपछि कामलाई अझै तीव्र बनाइने बताइएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा–बागलुङ खण्डलाई नयाँ स्वरुपको बनाउनका लागि विस्तार र स्तरोन्नति गर्ने काम भइरहेको बताएको छ ।