दशैंतिहारमा चल्ने सवारीसाधनको विवरण संकलन गरिँदै |
काठमाडौं । यातायात व्यवस्था विभागले दसैं तिहारमा चल्ने यात्रुबस तथा अनुमानित यात्रुको विवरण संकलन सुरु गरेको छ । त्यसका लागि यातायात व्यवसायी र ट्राफिक प्रहरीलाई विवरण उपलब्ध गराउन आग्रह गरेको विभागले जानकारी दिएको छ । व्यवसायीले यो वर्ष नयाँ यात्रु बस नथप्ने भएपछि यात्रुबस तथा यात्रुको अनुमानित विवरण संकलन गर्न लागिएको बताइएको छ ।
हाल सञ्चालनमा रहेका गाडीले दसैँ तिहारमा यात्रु ओसार्न सम्भव छ÷छैन, अनुमान गर्न यस्तो संकलन कार्य गर्न लागिएको हो । साथै दशैँमा कति यात्रुले यात्रा गर्छन भन्ने यकिन गर्न विवरण संकलन सुरु गरेको विभागको भनाई छ । अहिले भइरहेकै गाडीबाट दसैँ तिहारमा घर जाने सबै यात्रुलाई सहज रूपमा सेवा दिन सम्भव नरहेको विभागको अनुमान छ ।
हरेक वर्ष पाँच सयभन्दा बढी नयाँ बस थप्दै आएका यातायात व्यवसायीले यो वर्ष एउटा पनि नयाँ बस माग गरेका छैनन । अहिलेसम्म अर्डर नै नगरेकाले नयाँ गाडी आउन सम्भव नरहेको बताईएको छ । अन्य विकल्पका रूपमा विद्यालयका बस सञ्चालन गर्ने, सुरक्षा निकाय र संस्थानका गाडी सञ्चालन गर्न आग्रह गर्नेलगायत भए पनि अहिलेसम्म त्यस्तो अभ्यास भएको छैन ।
सिन्डिकेट अन्त्यपछि यातायात क्षेत्र अस्तव्यस्त भएको, बिमालगायतका विषयमा सरकारले स्पष्ट निर्णय लिन नसकेको, बैंकको ब्याज उच्च बनाएकोलगायतका कारण व्यवसायीले नया बस अर्डर नगरेका यातायात व्यवसायी राष्ट्रिय महासंघको भनाई छ । काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका कम्तीमा १४ लाख मानिस दसैँ र तिहारमा घर जाने अनुमान यातायात व्यवस्था विभागले गरेको छ ।