पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढ्यो | हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मुल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको निगमका प्रबक्ता विरेन्द्र गोइतले जानकारी दिएका छन् ।
बढेको मुल्यपछि अब पेट्रोल प्रति लिटरको ११४ रुपैयाँ पुगेको छ । डिजल र मट्टीतेलको मुल्य १०१ रुपैयाँ प्रति लिटर भएको छ । निगमले यो मूल्य अन्तरराष्ट्रियस्वचालित मूल्य अनुसार समायोजन भएको जानकारी दिएको छ ।
हवाई इन्धन र एल पी ग्यासको मूल्य भने यथावत छ । मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ९२ पैसा र डिजेलमा प्रति लिटर २ रुपैयाँ ७२ पैसा घाटा रहेको निगमले जानकारी दिएको छ । यस्तै एलपी ग्यासमा प्रति सिलिण्डर ३०९ रुपैयाँ ७९ घाटा रहेको छ । समग्रमा निगमलाई १५ दिनमा झण्डै ३१ करोड ६७ लाख घाटा हुने देखिन्छ ।
यसअघि गएको भदौ २० गते पेट्रोलमा १ रुपैयाँ , डिजल र मट्टीतेलमा ३ रुपैया र एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको थियो ।