दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम तीव्र पारिने |
काठमाडौं । बाराको जीतपुर सिमरामा अवस्थित दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको कामलाई तीव्र पारिने भएको छ । देशको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलले यात्रु तथा विमानको चाप थेग्न नसकेको भन्दै दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम तीव्र पारिन लागेको आयोजनाको कार्यालय सिमराले जानकारी दिएको छ ।
सरकारको महत्वाकांक्षी राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भई रहेको ढिलाईले अन्यौलता बढाइ रहेको बेला काम लाई तीव्ररुपमा अगाडि बढाउने खबर आएको हो । पहिलो चरणमा चार किल्लालाई तारबार लगाउने कामका साथै पसाहा खोलामा तटबन्ध लगाउने काम भइरहेको आयोजना कार्यालय सिमराले जानकारी दिएको छ ।
हाल विमानस्थल निर्माण क्षेत्रभित्र पर्ने साविक करैया गाविस वडा नं. ८ र ककडी वडा नं. १ मा नम्बरी आवादी जग्गाको मुअब्जा वितरणको काम जारी रहेको छ । जसअन्तर्गत ककडीको १० बिघा र काँटगाउँको ४६ बिघा गरी यस क्षेत्रमा रहेका एक सय १० बिघा जग्गामध्ये ५६ बिघाको मुआब्जा वितरण गरिसकेको कार्यालयले जानकारी दिएको छ ।
समितिले निर्धारण गरेको मुअब्जाप्रति असन्तुष्टि राख्दै ककडी र काटँगाउँका एक सय दश बिघामध्ये ५६ बिघाका एक सय ४१ जना जग्गा धनीले मात्र मुआब्जाका लागि कार्यालयमा आएको बताइएकोे छ । सरकारले प्रतिकठ्ठा दुई लाख ४० हजारदेखि चार लाख ६० हजार रुपैयाँ मुआब्जा दिने गरी दर निर्धारण गरेको छ । राज्यले चलनचल्तीको हिसाबले मुआब्जा निर्धारण नगरेकोले आफूहरुलाई समस्या हुने गरेको स्थानिय बासिन्दाको भनाई छ ।
अन्तरराष्ट्रिय विमानस्थलमा पर्ने रुख कटानको लागि पनि सम्बन्धित मन्त्रालयगत काम अगाडि बढेको बताइएको छ । निजी लगानीसम्बन्धी परियोजना समन्वय समितिको ०६४ माघको सिफारिसअनुसार सरकारले त्रिवर्र्षीय योजना ०६४–६७ मा नेपाल प्रवेश गर्ने वैकल्पिक अन्तरराष्ट्रिय हवाई मार्गका लागि बाराको निजगढमा दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्ने घोषणा गरेको थियो ।