नयाँ नोट साट्ने होइन ? तयारी थाल्यो राष्ट्र बैंकले | रू. ४० अर्बको नयाँ नोट आउँदै, प्रतिव्यक्ति २० हजारसम्म, राष्ट्र बैंकमै गए २७ हजारसम्म साट्न पाइने
काठमाडौं । आउँदै गरेको दशैंतिहार तथा छठ पर्वलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरणको तयारी थालेको छ । विगतमा झैं यस वर्ष पनि राष्ट्र बैंकले तीन सरकारी बैंकमार्फत निजीक्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध गराउने भएको छ ।
निजी क्षेत्रका बैंकहरूलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइने राष्ट्र बैंकले जानकारी गराएको छ । प्राप्त जानकारी अनुसार आजभोलि नै निर्णय गरेर घटस्थापनावरपर पारेर नोट वितरण गरिने भएको छ ।
नयाँ नोट कतिसम्म र कहाँकहाँबाट पाइने ?
राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ । यसअघि राष्ट्र बैंकले काठमाडौंस्थित बैंकिङ कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरूबाट मात्र नयाँ नोट सटही गर्दै आइरहेकोमा यस पटक सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ ।
निजीक्षेत्रका बैंकहरूले राष्ट्र बैंकबाट पैसा लगेर आफूले चिनेजानेकाहरूलाई मात्र सटही सुविधा दिएको गुनासो बारम्बार आएकाले यस पटकदेखि तीन सरकारी बैंकमार्फत राष्ट्र बैंकले साटेजस्तै माग्न आउनेजतिलाई वितरण गर्ने व्यवस्था मिलाएको छ ।
सटही सुविधा नेपाल बैंक लिमिटेडको काठमाडौं बैंकिङ कार्यालय, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुर, राष्ट्र वाणिज्य बैंकको सिंहदरवार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्शाल शाखाबाट सटही सुविधा उपलब्ध गराइने भएको छ । साथै कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलइने भएको छ ।
राष्ट्र बैंकमै गएर साट्नेहरुले भने प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट पाउनेछन् । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई भने सर्वसाधारणलाई नयाँ नोट वितरण गर्न राष्ट्र बैंकले साढे ३ करोडदेखि ११ करोड रुपैयाँसम्म उपलब्ध गराउने बताइएको छ ।
राष्ट्र बैंकका क्षेत्रीय कार्यालयहरू र उसको मातहतमा सञ्चालित नोटकोष रहेका वाणिज्य बैंकहरूले पनि नोट वितरण गर्ने छन् । यसपालि ४० अर्ब रुपैयाँको नयाँ नोट साटिने लक्ष्य छ ।