होस् गर्नुस् ! अब मदिरा र इण्टरनेटमा हुँदै छ कडाइ | महिला हिंसा र बलात्कारको मुख्य कारण मदिरा र इण्टरनेट : गृहमन्त्री थापा
काठमाडौं । कतै तपाईं पनि मदिरा, लागूपदार्थ र इण्टरनेटको गलत प्रयोग त गरिरहनुभएको छैन ? होस् गर्नुस्, सरकारले अब मदिरा र इण्टरनेटमा कडाइ गर्ने भएको छ । सरकारले मदिरा, लागूपदार्थ र इण्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलात्कारको घटना बढेको भन्दै यी तीनवटै चिजमा कडाइ गर्न लागेको हो ।
आज राष्ट्रिय मानवअिधकार आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री रामबहादुर थापा बादलले महिला हिंसा, बलात्कार न्यूनीकरणका लागि सरकारले यी तीन चीजको प्रयोगमा कडाइ शुरू गरिसकेको खुलासा गरेका हुन् ।
उनले भने, ‘मदिरा, लागूपदार्थ र इण्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलात्कारका घटना बढेका छन्, तिनको प्रयोगमा मन्त्रालयले कडाइ शुरू गरिसकेको छ ।’ उनले महिला हिंसा र बलात्कारका घटना न्यूनीकरण गर्न सरकारले विशेष कार्यक्रम नै ल्याउने जानकारी पनि दिए ।
उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलात्कारको घटनाबाट आफू दुःखित भएको भन्दै सो घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने प्रतिवद्धतासमेत व्यक्त गरे । उनले भने, ‘घटनालगत्तै स्थानीय प्रहरीलाई गम्भीर रूपमा अनुसन्धान गर्न भनिएको हो, केही दिनमै केन्द्रबाट सीआईबीको टोली पनि पठाइएको हो । पछि केन्द्रबाट उच्चस्तरीय छानबिन समिति गठन गरियो । अनुसन्धानमा प्रहरीको समेत लापरबाही रहेको गुनासोका आधारमा ६ जना प्रहरीलाई निलम्बितसमेत गरिसकिएको छ । थप अर्को शक्तिशाली अनुसन्धान टोली पनि परिचालन भएको छ । केही दिनमै परिणाम आउँछ ।’
आफूले गृह मन्त्रालय सम्हालेपछि विगतमा रहेको चन्दा आतंक, विस्फोट, गुण्डागर्दी, तस्करीलगायतका आपराधिक क्रियाकलाप नियन्त्रणमा आएको बताउँदै गृहमन्त्रीले यस्तो कार्यमा आयोगलेसमेत साथ दिनुपर्ने बताए ।
मानवअधिकार आयोगमा भएको छलफलमा अध्यक्ष शर्माले कञ्चनपुर घटनाको छानबिनको अवस्थाबारे जिज्ञासा राख्दै सो घटनामा प्रहरीको भूमिका फितलो देखिएको गुनासो गरे ।