वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त |

काठमाडौं । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त भएका छन् । उनलाई आइतवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल वायुसेवा निगम ऐन दफा ४ को ५ मा भएको व्यवस्थाअनुसार खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरिएको बैठकपछि सरकारका प्रवक्ता एवम सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका हुन् ।
खरेललाई सरकारले गत शुक्रवार निगमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो । त्यसको दुई दिनपछि नै फेरि उनै खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । खरेलको नियुक्तिले निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलाई अपठ्यारो पर्ने देखिएको छ । उनको कार्यकाल अझै ८ महिना बाँकी रहेको छ ।