४० मेगावाटको रघुगंगा जलविद्युत् आयोजनाको निर्माण शुरू |
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको रघुगंगा जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम शुरु भएको छ । ४० मेगावाट क्षमताको उक्त आयोजना निर्माणका लागि ठेक्का सम्झौता पाएको भारतीय कम्पनी जेपी एशोसिएट्शले प्रारम्भिक चरणको निर्माण कार्य शुरू गरेको हो । उक्त कम्पनीले ६ अर्ब रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्ने गरी २०७४ मङ्सिर ५ गते ठेक्का सम्झौता गरेको थियो ।
ठेकेदार कम्पनीले नक्सशांकन (डिजाइन)को काम सकेर बाँध, सुरुङसम्म पुग्ने सडक निर्माण र व्यवस्थापकीय काम शुरू गरेको रघुगंगा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिए । उनका अनुसार मनसुन सकिएलगत्तै बाँध, सुरुङ र विद्युत्गृहको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाएको ठेकेदार कम्पनीले पूर्वतयारीको कामलाई तीव्रता दिएको छ ।
प्रवेशबिन्दु घुमाउने तालदेखि पिप्लेतर्फ ६ सय मिटर सडकको ट्याक खुलेको छ । आवासगृह भवन निर्माण र विद्युत्गृह क्षेत्रमा काम गर्नका लागि झाडी, रुख हटाउने र उपकरण जुटाएर तयारी अवस्थामा राखेको छ ।
उक्त आयोजनाको ठेक्का सम्झौताको स्वीकृतिका लागि ऋण लगानीकर्ता भारतीय एक्जिम बैंक हो । सो बैंकले ६ महिना लगाउँदा ठेकेदार परिचालनमा ढिलाइ भएको आयोजनाले बताएको छ । सिभिल निर्माणको काम ३९ महिनामा सम्पन्न गर्ने सम्झौता भएको छ ।
पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियाबाट अघि बढाइएको आयोजनामा विगत नदोहोरियोस् भन्ने सरोकारवालाको अपेक्षा छ । म्याग्दीको जलविद्युत् विकासको मेरुदण्ड मानिएको रघुगङ्गालाई सहजरुपमा समयमै सम्पन्न गराउनुपर्ने प्रदेशसभा सदस्य विनोद केसीले बताए ।
यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि ८ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको हो ।