निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा प्रहरी प्रधान कार्यालयको अर्को शक्तिशाली समिति |

काठमाडौं । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानबिन गर्न आज फेरि अर्को समिति गठन गरेको छ । कार्यालयले डीआईजी धीरु बस्नेतको संयोजकत्वमा ‘शक्तिशाली’ समिति गठन गरेको बताइएको छ । उनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा सिफारिश भएका उम्मेदवार पनि हुन् ।
यसअघि यसै प्रयोजनका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको थियो । सोही समितिको दायरा फराकिलो बनाउँदै प्रहरी प्रधान कार्यालयले डीआईजी बस्नेतको नेतृत्वमा अर्को ‘शक्तिशाली’ समिति बनाएको हो ।
आज गठन भएको प्रहरीको ‘शक्तिशाली’ समितिले शुरूमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको गल्ती, कमी कमजोरीको छानबिन र अनुसन्धान गरी यथाशीघ्र चाँडो प्रतिवेदन बुझाउने बताइएको छ ।
शुरूमा अनुसन्धानमा खटिएका सुरक्षाकर्मीको अनुसन्धान कार्य फितलो र शंकास्पद देखिएकाले अनुसन्धानका लागि गृहमन्त्रालयले निलम्बनसमेत गरिसकेको छ । आज बिहानै निलम्बनमा पर्नेहरुमा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी रहेका छन् । प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई यसअघि नै निलम्बन गरिसकिएको छ ।