रसुवागढी जलविद्युतको सुरुङमा पहिरो खस्दा दुईको मृत्यु, ९ घाइते |
रसुवा । रसुवा जिल्लाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरो खस्दा शनिवार राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम जिल्ला भूमे गाउँपालिका– ९ का ५० वर्षीय भीम रोका र मकवानपुर जिल्ला हेटौंडा नगरपालिका–११, मकवानपुरका २२ वर्षीय रमेश कप्तौला रहेको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिएका हुन् । उनका अनुसार रोकाको स्थानीय मेडिकलमा उपचारका क्रममा र कप्तौलाको घटनास्थलमै मृत्यु भएको हो ।
टिमुरेस्थित भन्सार कार्यालयको मोटर पार्किङ गर्ने स्थलको भोटेकोशी पारिपट्टिको गोसाइँकुण्ड गाउँपालिका–१ स्थित आयोजनाको सुरुङ प्रवेश गर्ने क्रममा माथिबाट झरेको पहिरोबाट उनीहरूको मृत्यु भएको बताइएको छ । १११ मेगावाट क्षमताको आयोजनाको सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी सी.डब्लू्.ई.मार्फत रात्रिकालीन काम गर्न सुरुङभित्र जाने क्रममा टिपरमाथि ढुङ्गा खस्दा उनीहरुको मृत्यु भएको हो ।
सोही दुर्घटनामा परी गम्भीर घाइते हुनेमा रुकुम जिल्ला भूमि गाउँपालिका–२ का २५ वर्षीय जगदीश रोका, रुकुम जिल्लाकै काँक्रेका २२ वर्षीय टेकमान बुढा र ४२ वर्षीय एक चिनियाँ नागरिक रहेका छन् । गम्भीर घाइते सबैलाई गएराति नै उपचारार्थ काठमाडौं पठाइएको छ । धुञ्चे अस्पतालमा भर्ना भएका अर्का प्रकाश भट्टलाई पनि थप उपचारका लागि आज बिहानै काठमाडौं पठाइएको रसुवा जिल्ला अस्पताल धुञ्चेले जानकारी दिएको छ ।
सामान्य घाइते भएका अन्यको ठेकेदार कम्पनीको टिमुरेस्थित मेडिकल क्याम्पमा उपचार भइरहेको आयोजनाले जानकारी दिएको छ ।