‘अप्रिलियाको अल नेपाल टुर, खर्च प्रतिव्यक्ति १ लाख |
काठमाडौं । स्कुटर विक्रेता कम्पनी अप्रिलियाले नेपालमै पहिलो पटक स्कुटीको ३५ सय किमीको अल नेपाल टुर गर्ने भएको छ । कम्पनीले असोज १ देखि १९ गतेसम्म ‘अप्रिलिया रोड ट्रिप’ गर्न लागेको हो ।
प्रतिव्यक्ति खर्च झण्डै १ लाख लाग्ने अनुमान गरिएको उक्त टुरमा १९ जनासम्म राइडरले सहभागिता जनाउने कम्पनीले बताएको छ । सो टुरमा कम्पनीको तर्फबाट मात्र १० जनाले भाग लिने र अप्रिलिया कम्पनीको स्कुटर किन्ने व्यक्तिले समेत सहभागिता जनाउन सक्नेछन् । कार्यक्रममा अल्का अस्पताल प्रालिको समेत सहभागी रहने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले प्रतिदिन २५० देखि ३ सय किलोमिटरको यात्रा गर्ने लक्ष्य लिएको छ । भ्रमण टोलीमा मेडिकल र मेकानिकल टोलीसमेत सहभागी हुनेछन् । कम्पनीले अप्रिलिया स्कुटर अफ रोडका लागि समेत योग्य रहेको दाबी गरेको छ ।