माथिल्लो तामाकोशीको शेयरको बाँडफाँट दशैंपछि मात्र | ७५ प्रतिशत दोलखालीको आवेदन
चरिकोट । राष्ट्रिय गौरवको आयोजनामध्येकै एक माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैंपछि मात्र बाँडफाँट हुने भएको छ । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको उक्त साधारण शेयर (आईपीओ) का लागि २ लाख ८२ हजारले आवेदन दिन पाउने भए पनि २ लाख १५ हजार अर्थात् ७५ प्रतिशत दोलखावासीले मात्र आवेदन दिएको जानकारी दिए ।
उक्त शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि गत साउन १६ गतेदेखि यही भदौ १४ गतेसम्म खुल्ला गरिए पनि समय अपुग भएको भन्दै समय थप गरी भदौ २१ गतेसम्म बनाइएको थियो ।
शेयरका लागि तीन गुणाभन्दा बढीको आवेदन परेको छ । आयोजनाको साधारण शेयर कात्तिक अन्तिम साता आउने आयोजनाले जानकारी दिएको छ । प्रवद्र्धक माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चुक्तापूँजीको १५ प्रतिशत अर्थात् १ अर्ब ५८ करोड ८५ लाख बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्कासन गर्नेछ । स्थानीयवासीका लागि कम्पनीले १ अर्ब ५ करोड ९० लाखबराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्कासन गरेको हो । यो शेयरमा करीब ३ अर्बबराबरको आवेदन परेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत शेयर निष्कासन गरेको छ । स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म शेयरका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।