नागढुङ्गा–धुलिखेल मोनो रेलका लागि सरकारले छान्यो ६ कम्पनी | चक्रपथ मोनोरेलको पनि सम्भाव्यता अध्ययन प्रतिवेदन तयार

काठमाडौं । सरकारले ४५ किलोमिटर लामो नागढुङ्गा–धुलिखेल मोनो रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि प्रारम्भिक रूपमा ६ वटा कम्पनी छनोट गरेको छ । छनोटमा चीन, भारत, कोरिया, टर्की र जापानका कम्पनी परेको लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । ती कम्पनीलाई प्राविधिक प्रस्तावसहित ३० दिनभित्र सम्पर्कमा आउन आग्रह गरिएको छ ।
विगतमा आशयपत्र पेश गरेर संक्षिप्त सूचीमा परेका चाइना मेसिनरी इञ्जिनीयरिङ कर्पाेरेशन, चाइना रेल्वे सिउवान सर्वे एण्ड डिजाइन ग्रुप कम्पनी लिमिटेड, निप्पोन कोइ कम्पनी लिमिटेड, जापान, राइट्स इण्डिया लिमिटेड, युसिन इञ्जिनीयरिङ कर्पाेरेशन सिउल र युकसेल प्रोजे युसलराशी टर्कीलाई छनोट गरिएको हो ।
प्रवक्ता वाग्लेले सो रुटको मोनो रेल सम्भाव्यता अध्ययनका लागि परामर्शदाता कम्पनी छनोट भएको जानकारी दिए । उनका अनुसार लगानी बोर्डले संयोजन गरिरहेको उक्त योजनाको प्राविधिक प्रस्तावका आधारमा उपयुक्त कम्पनी छनोट गरिनेछ ।
बिहीवार राति छनोट गरिएका ६ परामर्शदाता कम्पनीले सूचना प्रकाशित भएको ३० दिनभित्र बोलपत्रका लागि आवेदन दिन आग्रह गरिएको छ । अब ती ६ कम्पनीबाटै एउटा कम्पनी छनोट गरी डीपीआर तयारीको काम शुरू गर्न आग्रह गरिनेछ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा २०७४ कात्तिक २७ गते बसेको बोर्डको बैठकले नागढुंगादेखि धुलिखेलसम्म ४५ किलोमिटर लामो मेट्रोरेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बनाउने निर्णय गरेको थियो । डीपीआर तयार भइसकेपछि लगानी बोर्डकै अगुवाइमा निर्माण, सञ्चालन र हस्तान्तरण अवधारणामा मेट्रो रेल निर्माणका लागि अन्तरराष्ट्रिय कम्पनीको खोजी गरिनेछ ।
रेल विभागका पूर्वसिनियर डिभिजनल इञ्जिनीयर प्रकाशभक्त उपाध्यायका अनुसार प्रतिकिलोमिटर रू. ७ अर्ब लागतमा मेट्रो रेल निर्माण गर्न सकिन्छ । सन् २०१० मा प्रतिकिलोमिटर रू. ५ अर्ब ३० करोडमा मेट्रो निर्माण गर्न सकिने भए पनि हालको मूल्यका आधारमा रू. ७ अर्बजति लाग्न सक्ने उपाध्यायको भनाइ छ ।
सो आधारमा ४५ किलोमिटर लामो नागढुंगा–धुलिखेल मेट्रो रेल निर्माणका लागि रू. ३ खर्ब १५ अर्ब जति लागत लाग्नेछ । काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माणका लागि इच्छा देखाएका कोरियाली, जापानी तथा केही चिनियाँ कम्पनीले ४ वर्षपहिले नै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा आशय पत्र बुझाएका थिए । सरकारले ठूला परियोजनाको संयोजन गर्ने जिम्मा बोर्डलाई दिएपछि उसैले हेर्दै आएको छ ।
संसारभर सुगम एवम् सरल यातायातका लागि मेट्रो रेल निर्माणको प्रक्रिया धेरै अगाडि बढेको छ । पाकिस्तानमा समेत मेट्रो रेल निर्माणको काम अगाडि बढिसकेको छ । नेपालमा मात्र पहिलो पटक बोर्डले त्यस्तो प्रक्रिया शुरू गरेको हो । छिमेकी देश चीन र भारतमा मेट्रो रेल निर्माणको काम धेरै पहिलेदेखि शुरू भएको हो । हाल बढ्दै गएको शहरी क्षेत्रको जनसंख्यालाई सहज रूपमा यातायात सेवा उपलब्ध गराउन मोनो रेललाई उपयुक्त विकल्पका रूपमा लिइन्छ । नेपालमा काठमाडौं महानगरपालिकालगायतका स्थानीय निकायले समेत मोनो रेल निर्माणको प्रक्रिया अगाडि बढाएका छन् ।
सीआरसीसीले चक्रपथ मोनोरेलको बुझायो सम्भाव्यता प्रतिवेदन
उता काठमाडौंको कुल २७ दशमलव ५ किलोमिटर लम्बाइ भएको चक्रपथमा पनि मोनोरेल सञ्चालन गर्न काठमाडौं र ललितपुर महानगरपालिकालाई चीनको चाइना रेल्वे २५औं ब्यूरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी)ले प्रारम्भिक सम्भाव्यता अध्ययनको प्रतिवेदन बुझाएको छ । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुरका प्रमुख चिरीबाबु महर्जनलाई कम्पनीका अन्तरराष्ट्रिय प्रबन्धक झावो सिवाबोले उक्त प्रतिवेदन बुझाएका हुन् ।
उक्त कम्पनीले गतजेठ ११ गते ६ महिनाभित्र प्रारम्भिक प्रतिवेदन तयार पार्ने गरी दुवै महानगरपालिकासँग चक्रपथ मोनोरेलको सम्भाव्यता अध्ययन गर्न सहमति गरेको थियो । सो कम्पनीले तयार पारेको प्रतिवेदनमा चक्रपथ मोनोरेल निर्माणका लागि करीब रू. १ खर्ब १६ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । प्रतिवेदनमा सबै हिसाबले चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने र त्यसका लागि प्राविधिक, भौगोलिक, आर्थिक, वातावरणीय सबैको सम्भाव्यताको समेत अध्ययन गरिएको उल्लेख छ ।
सीआरसीसीले पनि पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्म, दोस्रो चरणमा कलंकीदेखि चक्रपथसम्म र तेस्रो चरणमा चक्रपथदेखि कोटेश्वरसम्म मोनोरेल निर्माण गर्न सकिने बताएको छ । उसले काम शुरू गरेको तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने जानकारी दिएको छ । कम्पनीले करीब २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेशन बनाइने प्रतिवेदनमा उल्लेख छ ।