माथिल्लो तामाकोशीको आईपीओमा तीन गुणा दोलखावासीको आवेदन |
चरिकोट । राष्ट्रिय गौरवको आयोजनामध्येकै एक माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निष्कासन गरेको शेयरमा २ लाख दोलखावासीले आवेदन दिएका छन् । उक्त आयोजनाले दोलखावासीका लागि १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्कासन गरेको थियो । विक्री प्रबन्धक नागरिक लगानी कोषको तथ्यांकअनुसार उक्त शेयरमा तीन गुणा बढी आवेदन परेको छ ।
दोलखाको लामाबगरमा निर्माण भइरहेको उक्त आयोजनाले गत साउन १६ गतेदेखि यही भदौ १४ गतेसम्म शेयर आवेदन खुल्ला गरेकोमा उक्त समय अपुग भएकाले पुनः थप गरी भदौ २१ गतेसम्म बनाएको थियो ।
स्थानीयवासीका लागि रू. १ अर्ब ५ करोड ९० लाख बराबरको एक करोड ५ लाख ९० हजार कित्ता शेयर निष्कासन गरेकोमा तीन गुणा बढी आवेदन परेको आयोजनाले बताएको छ । स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म आवेदन दिएको पनि आयोजनाले जनाएको छ । ४ सय ५६ मेगावाट क्षमताको उक्त आयोजनाको ९६ प्रतिशत काम सम्पन्न भइसकेको छ ।