नेपालको पूर्वाधार विकासमा सहयोग गर्न अर्थमन्त्रीको आग्रह |

काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडाले जापान सरकारसँग नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गर्न आग्रह गरेका छन् । उनले भेटवार्ताका लागि बिहीबार अर्थ मन्त्रालय पुगेका नेपालका लागि जापानी राजदूत मासामिची साइगोसँग त्यस्तो आग्रह गरेका हुन् ।
सो अवसरमा उनले आर्थिक तथा सामाजिक विकासका लागि जापान सरकारबाट थप सहयोगको अपेक्षा गरेको बताउँदै आफूहरू आर्थिक विकास तथा समृद्धिको मार्गमा केन्द्रित रहेको बताए । उनले पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि जापानी आयात निर्यात बैंकबाट सहुलियत ऋण उपलब्ध गराइदिनसमेत आग्रह गरेका थिए ।
सो अवसरमा राजदूत साइगोले जापान सरकारको सहयोगमा निर्माण भएको सिन्धुली–बर्दिबास सडकको शीघ्र मर्मतका विषयमा अर्थमन्त्रीलाई आग्रह गरेका थिए । साथै, पछिल्लो समयमा नेपालमा लगानीका लागि जापानी व्यवसायी इच्छुक रहेको र आकर्षितसमेत भएको बताएका थिए ।