स्वास्थ्य क्षेत्रमा हड्ताल नगर्न सर्वोच्चको फैसला |

काठमाडौं । अबदेखि स्वास्थ्य सेवाजस्तो आधारभूत क्षेत्रमा बन्द हडताल गर्न नपाइने भएको छ । उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुप्रसाद तिमिल्सनाले स्वास्थ्य क्षेत्रजस्तो आधारभूत क्षेत्रमा बन्द हड्ताल गर्न नहुने भन्दै दायर गरेको रिटमा सर्वोच्चले बिहीवार यस्तो फैसला गरेको हो ।
बिदामा बसेका न्यायाधीश दीपकराज जोशी बिहीवारबाट इजलास फर्केर स्वास्थ्य संस्थामा बन्द, हड्ताल, आन्दोलनजस्ता कार्यक्रम सञ्चालन गर्न नपाइने फैसला गरेका हुन् । उनले बिहीवार नेपाल चिकित्सक संघको नाममा आदेश जारी गर्दै त्यस्तो फेसला गरेका हुन् ।
गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै विगतदेखि नै स्वास्थ्य क्षेत्रमा बन्द, हडताल गर्दै आएको नेपाल चिकित्सक संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधनको विषयलाई लिएर आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । तर सरकारले संहिताका त्रुटि सच्याउने सहमति गरेपछि उसले भदौ २६ गतेसम्मको समय दिएको थियो ।