कुलमानका आँखा अब काठका पोल र नाङ्गा तारतिर | अब विद्युत् लाइन जमिनमुनि, ठूला कार्यालयमा बत्ती नजाने बनाइँदै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निकट भविष्यमै काठका पोल, शहरमा देखिएका नाङ्गा तार हटाई जमिनमुनिबाट विद्युत् लाइन वितरण गरिने बताएका छन् । बेलाबेलामा भइरहने विद्युत् कटौतीलाई समेत अन्त्य गरी चाँडै नै कहिल्यै पनि विद्युत् नजाने गरिने बताएका छन् । सञ्चार केन्द्र नेपालले बिहीवार काठमाडौंमा आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवम् देखिएका चुनौती’ विषयक अन्तरक्रियामा त्यस्तो धारणा राखेका हुन् ।
सो अवसरमा कार्यकारी निर्देशक घिसिङले ठूला सरकारी प्रमुख सरकारी कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने बनाउने तयारी भइरहेको बताए । उनले भने, ‘अहिले पनि राष्ट्रपति तथा प्रधानमन्त्री निवास र सिंहदरबारमा बेलाबेलामा बत्ती जाने गरेको छ, अब त्यस्ता संवेदनशील क्षेत्रमा कहिल्यै बत्ती नजाने गरी व्यवस्था मिलाउन लागिरहेका छौं ।’
उनका अनुसार प्राधिकरण अहिले साना प्रसारण क्षमताबाट वितरण भएको विद्युत्लाई भरपर्दो र दिगो समाधानका लागि क्षमता बढाएर गुणस्तरीय बनाउन लागिरहेको छ यसबाट बेलाबेलामा विद्युत् जाने समस्या हट्नुका साथै निरन्तर विद्युत् पनि आइरहन्छ ।
नेपालको जलविद्युत् परियोजनालाई विस्तार गरेर केही वर्षमा विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पुर्याइने उनको भनाइ थियो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद वलीले सरकारले थप जलविद्युत् परियोजना ल्याउन तयारी गरिरहेको जानकारी दिँदै जलविद्युत्मा वैदेशिक लगानी भित्र्याउन हालको कानून अड्चनको रूपमा रहेकाले त्यसलाई संशोधन गरी वैदेशिक लगानी भित्र्याइने बताए ।
विद्युत्मा फड्को मार्न सकेमात्र मुलुकको विकास हुने भन्दै उहाँले ठूला परियोजनाबाट विद्युत् उत्पादनका लागि सरकारले वैदेशिक लगानी खोजिरहेको बताए।
ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले लोडसेडिङमुक्त भए पनि बिजुलीको गुणस्तर कामय गर्न नसकिएको बताए।