सरकारी सुपथ मूल्यका पसल असोज १२ गतेदेखि सञ्चालन हुँदै |
काठमाडौं । सरकारले दशैं तथा तिहारलाई लक्षित गरेर आगामी असोज १२ गतेदेखि काठमाडौंका मुख्य मुख्य स्थानमा सुपथ मूल्यको पसल सञ्चालनमा ल्याउने भएको छ । दशैं तथा तिहारमा उपभोक्तालाई ठगिनबाट बचाउन र बजार भाउमा एकरुपता कायम गर्न सुपथ मूल्यका पसल सञ्चालन गर्न लागिएको आपूर्ति मनत्रालयका प्रवक्ता नवराज ढकालले बताएका हुन् ।
आपूर्ति मन्त्रालयका अनुसार सरकारले काठमाडौं उपत्यकालगायत देशभर ४७ वटा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यस्ता पसलहरू कात्तिक २७ गतेसम्म सञ्चालन हुनेछन् । पसलमा साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सस्तो उपभोग्य सामान उपलब्ध गराउनेछन् । कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर, ललितपुरमा तीनवटै संस्थानले एकीकृत पसल चलाउने तयारी छ ।
यी पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, चिनीमा ५, बास्मतीमा १०, खसीबोका च्याङ्ग्रामा १०, नुनमा २, डीडीसी घ्यूमा ५० र पनीरमा प्रतिकिलो १० रुपैयाँ छुट हुने भएको छ । खाद्य संस्थानले सिंहदरबारमा एकीकृत र ७ प्रदेशमा थप ११ वटा सुपथ मूल्यका पसल खोल्नेछ ।
त्यसैगरी, साल्ट ट्रेडिङले काठमाडौंमा नौवटा आफ्नै डिपोहरूमा सुपथ मूल्य पसल सञलन गर्नेछ भने उपत्यकाबाहिर २२ वटा डिपो र घुम्ती पसल गरेर ३६ वटा सुपथ मूल्यका पसल चलाउनेछ । उपत्यकामा तीनवटा मोबाइल भ्यानबाट पनि घरदैलोमा सामान पुर्याउने व्यवस्था मिलाइएको छ । त्यसैगरी उपत्यकाबाहिर कृष्णनगर, सुर्खेत, नेपालगंज, टिकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिशुली, बैतडी, हटौंडा, पोखरा, अछाम, बाजुरा, बझाङ, विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, बाग्लुङ र भैरहवामा पनि सुपथ मूल्यका पसल सञ्चालन हुने साल्ट ट्रेडिङले जानकारी गराएको छ ।
यस्ता पसलमा सरकारी संस्थानले खाद्यान्न तथा उपभोग्य समानमा विभिन्न छुटहरू दिनेछन् । दाल, चामल, चिनी, मैदा, सुजी, दाल र सोयाविन तेलमा छुट दिइनेछ । दुग्ध विकास संस्थानले घ्यूमा छुट दिनेछ । खाद्य संस्थानले चामल, गहुँ र गेडागुडीमा छुट दिनेछ ।