निर्मला हत्या प्रकरण : एसपी विष्टसँगै किरण र आयुको पनि डीएनए परीक्षण थालियो |

काठमाडौं । कञ्चनपुरको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा अहिले शंकापद व्यक्तिहरूको डीएनए परीक्षण काठमाडौंमा थालिएको छ । सो प्रकरणमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको पनि डीएनए परीक्षण थालिएको छ । उनको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा परीक्षण थालिएको हो ।
अस्पतालका फरेन्सिक विज्ञ डा. हरिहर वस्तीको नेतृत्वको टोलीले उनको डीएनए परीक्षणका लागि बिहान रगतको स्याम्पल लिएको स्रोतले बतायो । उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरिसकेको छ ।
विष्टसँगै उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुको पनि डीएनए परीक्षण गर्ने तयारी थालिएको बताइएको छ । यसअघि प्रहरीले मुख्य अभियुक्तको रूपमा सार्वजनिक गरेको दिलीपसिंह विष्टको डीएनए रिपोर्ट नेगेटिभ आएपछि उनी छुटिसकेका छन् ।
त्यस्तै, निर्मला पन्तको हत्या हुनुअगाडि उनी गएको घरकी रोशनी र बबिता बम पनि छुटिसकेका छन् । रोशनी हाजिर जमानीमा छुटेकी थिइन् भने बबिता ३० हजार रुपैयाँ धरौटीमा छुटेकी हुन् । लामो समयसम्म बम दिदीबहिनीलाई स्थानीय प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थिएन ।
आन्दोलन चर्किएर प्रहरीको गोलीबाट एक बालकको मृत्यु भयो । त्यसपछि सरकारले स्थानीय प्रशासन र प्रहरीको नेतृत्व परिर्वतन गर्यो । त्यसपछि मात्र बम दिदीबहिनी पक्राउ परेका थिए ।