धेरै भाडा लिने र मीटर बिगारेर चलाई ठगी गर्ने ३ सय ३७ ट्याक्सी कारबाहीमा |

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सञ्चालन भइरहेका ३ सय ३७ वटा ट्याक्सी कारबाहीमा परेका छन् । भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगारेर ट्याक्सी चलाउनेलगायत कार्य गर्ने ट्याक्सी चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिई कारबाही गरेको हो ।
महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत कानूनविपरीत काम गर्ने ट्याक्सी कारबाहीमा परेका हुन् । महाशाखाले यही भदौ २१ गतेदेखि सञ्चालन गरेको उक्त अभियानमा भदौ २७ गतेसम्ममा उक्त संख्याका ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो ।
महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बढी भाडा लिई यात्रुलाई दुःख दिने ट्याक्सी चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनले भने, ‘महाशाखामा ट्याक्सीले यात्रुलाई ठगेको गुनासो धेरै आएपछि विशेष अभियान सञ्चालन गरेका हौं, यो अभियान निरन्तर सञ्चालन गरिन्छ ।’
महाशाखाले उक्त अभियानका लागि ५० ट्राफिक प्रहरी खटाएको जानकारी दिएको छ । नियन्त्रणमा लिएका ट्याक्सीलाई यातायात व्यवस्था विभागद्वारा प्रत्यायोजित अधिकारअन्तर्गत ३ हजार रुपैयाँसम्म जरिवाना गरिएको बताएको छ ।