पहिरोका कारण चिनियाँ नाकामा सडक अवरुद्ध, कन्टेनर बाटैमा रोकिए |

काठमाडौं । चीनबाट रसुवाको रसुवागढी भएर नेपाल भित्रिने मालवाहक गाडीहरू फेरि सडक अवरुद्ध हुँदा बाटैमा रोकिएका छन् । रसुवाको धुन्चेबजारदेखि ३ किलोमीटर नजिक पर्ने खोपङभीर भन्ने स्थानमा ढुंगासहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो ।
रसुवाका निमित्त प्रहरी प्रमुख इन्सपेक्टर ओमप्रकाश वाग्लेले बाटोअवरुद्ध भएर मोटरसाइकलसमेत ओहोर–दोहोर गर्ने अवस्था नरहेको जानकारी दिए । आइतबार पहिरो खसेपछि अवरुद्ध भएको सडक अझै सुचारु हुन नसकेको उनले बताए ।
सडक अवरुद्ध भएपछि धेरै गाडीहरू रसुवागढी नाकातर्फ रोकिएका छन् । चीनबाट फर्किएका धेरै कन्टेनरमा स्याउ र मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका सामानहरू भएको निमित्त प्रहरी प्रमुख वाग्लेले बताए ।
चीनबाट दशैंका लागि तयारी कपडा, जुत्ता, चप्पल, खाद्यान्न, बिद्युतीय उपकरणलगायतका सामग्री लिन जान लागेका करिब डेढ सय कन्टेनर र ट्रकहरू जान नसकेको बताइएको छ ।
सीमा प्रहरीका अनुसार टिमुरेबाट स्याफ्रुसम्म मात्रै करिब ५० ट्रक र कन्टेनर रोकिएको तथा धुन्चेमा करिब ४० ट्रक र कन्टेनर अलपत्र परेका छन् । चाडबाडका बेला पटक–पटक बाटो अवरुद्ध हुँदा बजारमा समेत अभाव सिर्जना हुन थालेको व्यवसायीको भनाइ छ ।
यसअघि पनि सो स्थानमा पहिरो गई बाटो अवरुद्ध भएको थियो । उही भदौ १ गते धुञ्चे नजिक दुई ठाउँमा पहिरो जाँदा १५ दिन बाटो ठप्प भएको थियो । अवरुद्ध उक्त सडकमा मंगलवारदेखि नै पहिरो पन्छाउने कार्य भइरहे पनि ठूला ठूला ढुंगा खसेर बसेका कारण कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।