कालिका पावरको आईपीओ आजदेखि बिक्री खुल्ला | सर्वसाधारणका लागि ११ लाख १६ हजार कित्ता
काठमाडौं । कालिका पावरले सर्वसाधारणका लागि निष्कासन गर्ने भनिएको प्राथमिक शेयर (आईपीओ) को आजदेखि विक्री खुल्ला भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता १ सय रुपैयाँ दरमा ११ लाख १६ हजार कित्ता शेयरको विक्री खुल्ला गरेको हो ।
कम्पनीले उक्त शेयर छिटोमा असोज १ गतेसम्म र नबिकेमा असोज २८ गतेसम्मका लागि विक्री खुल्ला गरेको छ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम ६ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केटले जानकारी दिएको छ ।
कम्पनीले सर्वसाधारण समूहतर्फ १२ लाख कित्ता छुट्याएकोमा २४ हजार कित्ता कर्मचारीका लागि र ६० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ । आवेदनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट पाइनेछ ।
कम्पनीको प्रति मेगावाट लागत २३ करोड ५० लाख रुपैयाँ रहेको छ भने कुल लागत १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । भर्खर उत्पादन थालेको कम्पनीले २ वर्षदेखि प्रतिशेयर आम्दानी ११ रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।