सनराइज बैंकको ‘पीओएस’ मेशिनबाट २३ लाख ठगी गर्ने पक्राउ |
काठमाडौं । सनराइज बैंकको पीओएस मेशिन लिएर दुरुपयोग गर्ने काठमाडौं तारकेश्वरका प्रदीप न्यौपानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । आयातनिर्यातको काम गर्ने भन्दै बैंकबाट पीओएस मेशिन लिएका उनले नक्कली कार्डको माध्यमबाट कारोबार गर्ने गरेको प्रहरीको आरोप छ ।
न्यौपानेले डीएमके इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालि कम्पनी दर्ता गरेर सो बैंकबाट पीओएस मेशिन लिएका थिए । पक्राउ परेका उनीमाथि प्रहरीले उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिई बैंकिङ कसूर तथा सजाय ऐनअनुसार अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
उनले उक्त मेशिनबाट १ सय ६३ पटक नक्कली कार्ड प्रयोग गरी १ करोड २ लाख १९ हजार कारोबार गरेकोमा २२ लाख ७७ हजार रुपैयाँको ‘सक्सेसफुल ट्रान्जेक्सन’ गरेका थिए । उनले कार्डबाट कारोबार गर्दा विदेशी नागरिकको पासपोर्टलाई आईडीको रूपमा प्रयोग गरी पासपोर्टको कपीमा नक्कली हस्ताक्षर प्रयोग गरेको प्रहरीले बताएको छ ।