आईएमई ग्रुपले सलाम एयरलाई नेपाल ल्यायो, आजैदेखि उडान शुरू | १० पटक यात्रा गर्दा १ टिकट निःशुल्क, पहिलो उडानका यात्रुलाई केबुलकारको टिकटमा ५० प्रतिशत छुट
काठमाडौं । आईएमई ग्रुपअन्तर्गतको आईएमई इण्टरनेशनल ट्राभल्स प्रालिले ओमानको सलाम एयरलायन्सलाई काठमाडौंदेखि ओमानको मस्कटमा उडान गराउन नेपाल भित्र्याएको छ । सो एयरलाइन्सले आजैदेखि उडान शुरू गरेको छ । आईएमई सलाम एयरको जनरल सेल्स एजेण्ट (जीएसए) समेत रहेको छ ।
सन् २०१७ देखि उडान थालेको सलामको काठमाडौं १५औं गन्तव्य हो । ए ३२० सिरिजको सलाम एयरको १७४ सिट क्षमता रहेको छ । सो एयरलाइन्सले ओमानबाट काठमाडौं बिहान ८ बजेर ३० मिनेटमा अवतरण गर्ने र ८ बजेर ४० मिनेटमा मस्कटका लागि उडान गर्नेछ ।
मध्यपूर्व जाने नेपालीलाई लक्षित गरी सलाम एयरले उडान गरेको आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । उनले १० पटक यात्रा गर्दा १ टिकट निःशुल्क प्रदान गर्ने जानकारी दिए । पहिलो उडानका यात्रुलाई चन्द्रागिरी हिल्सले केवलकार टिकटमा ५० प्रतिशत र अन्यलाई २५ प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरेको बताए ।