माथिल्लो तामाकोशीको आईपीओमा तीन गुणा बढी आवेदन, उत्पादन आगामी वैशाखदेखि नै |
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट क्षमता) को साधारण शेयरमा (आईपीओ) मा तीन गुणा बढीको आवेदन परेको छ । उक्त आईपीओको विक्री प्रबन्धक नागरिक लगानी कोषले उपलब्ध गराएको प्रारम्भिक तथ्यांकमा तीन गुणा बढी आवेदन परेको पाइएको हो । थप विवरण भने विक्री प्रबन्धकले केही दिनमा उपलब्ध गराउने बताइएको छ ।
आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार करीब २ लाख दोलखावासीले आयोजनाको आईपीओका लागि आवेदन गरेका छन् । सो आयोजनाको १० प्रतिशत अर्थात् रू. १ अर्ब ५ करोड ९० लाख रुपैयाँबराबरको आईपीओ स्थानीयवासीका दागि छुट्याइएको छ । जसमा स्थानीयवासीले मात्र १ करोड ५ लाख ९० हजार कित्ता साधारण शेयर पाउनेछन् ।
यस्तै, आयोजनाले आम नेपालीलाई कुल पूँजीको १५ प्रतिशत साधारण शेयर विक्री गर्ने तयारी गरेको छ । सो अनुपातमा सर्वसाधारणलाई रू. एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँबराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर विक्री गरिनेछ ।
आयोजनाले गत साउनको अन्तिम सातासम्म काठमाडौँमा बसोबास गर्दै आएका दोलखावासीलाई यही भदौको २१ गतेसम्म दोलखा जिल्लामा नै शेयर विक्री गरेको थियो ।
आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाख बढी सञ्चयकर्तालाई साधारण शेयर बिक्री गरिसकेको छ । तर हालसम्म विक्री भएका साधारण शेयर नेपाल स्टक एक्चेन्जमा भने सूचीकृत हुन सकेको छैन । स्थानीय तथा सर्वसाधारणलाई छुट्याएको क्रमशः १० र १५ प्रतिशत साधारण शेयर विक्री भएपछि मात्रै कर्मचारीलाई विक्री गरिएको शेयर स्टकमा सूचीकृत गर्ने तयारी गरिएको हो । स्थानीयवासीलाई न्यूनतम ३० देखि अधिकत्तम ३०० सय कित्तासम्म शेयरमा आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युन् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि छुट्याएको २४ प्रतिशत शेयर बाँडफाँट गरिसकेको छ ।
सो आयोजनाको ९६ प्रतिशत काम सम्पन्न भइसकेको छ र आगामी बैशाखदेखि बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको चरिकोटसम्म सडक बिग्रिएकाले ठुला पाइल आपूर्ति गर्न समस्या भएको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् । ढुवानीमा भएको समस्याले आयोजनाको काम प्रभावित हुँदै आएको उनको भनाइ छ ।