ठमेलको ज्याठामा भीषण आगलागी, झण्डै १० करोडको क्षति |

काठमाडौं । पर्यटनका दृष्टिले नेपालकै मुख्य क्षेत्र ठमेलको ज्याठामा आज बिहान ०४ः२५ बजे ठूलो आगालागी भएको छ । उक्त आगलागी स्थानीय सुनीलमान स्थापितको घरबाट शुरू भएर छिमेकी अर्को घरसम्म फैलिन पुगेको थियो । आगलागीबाट १० करोडबराबरको क्षतिको अनुमान गरिएको छ ।
स्थापितको पहिलो तलाबाट शुरु भएको आगो अक्सिजन ग्यास सिलिण्डर भण्डारण गरिएको भुँइतलासम्म सल्किएपछि अनियन्त्रित भएको प्रहरीले बताएको छ । ग्यास सिलिण्डर पड्किन थालेपछि आगो नियन्त्रणका लागि पुगेका प्रहरी र अग्नि नियन्त्रकलाई नियन्त्रण गर्न निकै गाह्रो भएको थियो ।
आगो समयमै नियन्त्रणमा लिन नसक्दा सँगै जोडिएका गौतम तुलाधर र अजयरत्न स्थापितको घरमा समेत आगोले क्षति पुर्याएको छ ।
दरबारमार्ग प्रहरी वृत्तका डीएसपी दानबहादुर मल्लले उक्त आगो पहिलो तल्लाबाट चौथो तल्लासम्म फैलिएको जानकारी दिए ।
उनले भने, ‘आगो लागेको जानकारी हामीलाई पौने ४ बजे आएपछि तुरून्तै घटनास्थल पुग्यौं, १० मिनेटमै दमकल पनि आइपुग्यो । तर, सिलिन्डर पड्किन थालेकाले नियन्त्रण लिन धेरै गाह्रो भयो ।’
आगो नियन्त्रणका लागि जुद्ध वारुणयन्त्रलगायत दमकलसँगै सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो । उक्त आगलागीबाट मानवीय क्षति भने हुन नपाएको प्रहरीले जानकारी दिएको छ ।