जापान पठाउने भन्दै झण्डै १ करोड ३२ लाख ठगी गर्ने समूहका नाइके पक्राउ |

काठमाडौं । जापान पठाउने भन्दै प्रतिव्यक्ति ७ देखि १२ लाखसम्म उठाई ठगी गर्ने समूहका नाइक प्रहरीको फन्दामा परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जापानमा सरकारी कोटामा काम गर्न पठाउने भन्दै करोडभन्दा बढीको ठगी गर्ने सिन्धुपाल्चोक मेलम्ची १३ का ३३ वर्षीय सविन प्रकाश दनुवारलाई आइतबार पक्राउ गरेको हो ।
दनुवारलगायतले विमान सेक्युरिटी एण्ड सर्भिस प्रालिबाट पीडितहरूलाई जापान पठाइदिने भनी २८ जनाभन्दा बढीको १ करोड ३१ लाख ५० हजार ठगी गरेको खुलेको छ । दनुवारलाई आजै जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ ।
यही मुद्दामा यसअघि सीआईबीले नुवाकोटकी ३३ वर्षकी सरिता गुरुङ, उदयपुरका लालमणि दनुवारलाई गत वर्ष माघमा पक्राउ गरी अदालतमा बुझाएकोमा १० लाख धरौटी तिर्न नसकेपछि गुरुङ जेलमा र १० लाख धरौटी बुझाई दनुवार छुटेका थिए ।
सोही बेलादेखि फरार रहेका सविनप्रकाश दनुवारलाई आइतवार सीआईबीले पक्राउ गरेको हो । उनीहरुले पीडितलाई १ लाख २१ हजार ३ सय ३३ रुपैयाँ तलब हुने भनी रकम ठगी गरेका थिए । प्रहरीले समूहका नाइके दनुवारलाई खोज्न इण्टरपोलबाट डिफ्युजन नोटिससमेत जारी गरेको थियो ।