वैदेशिक रोजगारीको सम्पूर्ण सूचना दिने एप्स सार्वजनिक |
काठमाडौं । अब विदेश जान चाहने नेपाली युवाहरूले आफू जान चाहेको देशको कम्पनीबाट आएको डिमाण्डका बारेमा सम्पूर्ण सूचना आफ्नै हातमा रहेको मोबाइलमा हेर्न सक्ने भएका छन् । नेपाल सरकारले वैदेशिक रोजगारीसम्बन्धी सम्पूर्ण सूचना मोबाइल एप्सबाटै उपलब्ध गराउन मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । श्रममन्त्री गोकर्ण विष्टले आज उक्त मोबाइल एप्सको सार्वजनिक गरेका हुन् ।
मन्त्री विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन त्यस्तो एप्स सञ्चालनमा ल्याएको बताए । अब उक्त एप्सबाट डिमाण्ड लेटरलाई दूतावासका कर्मचारीले प्रमाणित गरेर श्रम कार्यालयमा पठाउनेछन् । त्यस्तो जानकारी सबैले मोबाइल एप्सबाटै प्राप्त गर्न सक्ने उनले बताए ।
सोही एप्सबाट वैदेशिक रोजगार व्यवसायीले लिएको सेवा शुल्क, स्वास्थ्य परीक्षण गर्ने डाक्टरलगायतका विवरणसमेत आउनेछ । उक्त एपसको कार्यान्वयन भने असोज १५ गतेदेखि मात्र हुने मन्त्री विष्टले जानकारी गराए ।