एनआईसी एशिया र एशियन लाइफबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं (आपास) । एनआईसी एशिया बैंक र एशियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब यस बैंकका ग्राहकहरूले बैंकका देशभर रहेका सबै शाखाबाट एशियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवा पाउन सक्ने बैंकले जानकारी दिएको छ ।
हाल बैंकले २ सय ४४ वटा शाखा, २ सय ३८ एटीएम, १४ वटा एक्सटेन्सन काउण्टर एवम् १८ वटा शाखारहित बैंकिङ एकाइमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रू. १८६ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १५६ अर्ब तथा कर्जा प्रवाह रू. १३० अर्ब रहेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ भने संस्थागत सुशासन, जोखीम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पनि यस बैंकले पालना गर्दै आएको छ ।