नक्कली एटीएम कार्ड बनाउने भारतीय गिरोह रंगेहात पक्राउ |
काठमाडौं । नक्कली एटीएम कार्ड प्रयोग गरी अरूको कार्डबाट पैसा झिक्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमवार बिहान ठमेलबाट तीन जना भारतीय र एक जना नेपालीलाई पक्राउ गरेको हो ।
प्रहरीले ठमेलको एक होटेलमा नक्कली एटीएम कार्ड बनाइरहेको अवस्थामा उक्त गिरोहलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । परिसरका एसएसपी वसन्त लामाले भने, ‘नेपालमा आएर विदेशी नागरिकको एटीएमको डाटा चोरी गरी नक्कली एटिएमबाट पैसा झिक्ने गिरोहलाई नियन्त्रणमा लिएका हौं ।’
तीन जना भारतीय १० दिनअगाडि नै नेपाल आएर नक्कली एटीएम कार्ड बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरीले उनीहरूको साथबाट ५० वटा भन्दा बढी नक्कली एटीएम कार्ड, चार वटा स्वप मानिससमेत बरामद गरेको एसएसपी लामाले बताए ।
विशेष गरी पूर्वी युरोपेली मुलुक टर्की, बुल्गेरिया तथा रोमानियाका नागरिकहरू अत्याधुनिक उपकरणहरू साथैमा लिई पर्यटक भिसामा नेपाल आई यस्तो कार्यमा लाग्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । तर, पछिल्लो समय भारतीय नागरिक समेत देखिन थालेका छन् ।