सुनकोशी–२ र ३ संयुक्त लगानीमा बनाउन बंगलादेशको प्रस्ताव |
काठमाडौं । बंगलादेशले नेपालमा सुनकोशी–२ र ३ जलविद्युत् आयोजना संयुक्त रूपमा बनाउन प्रस्ताव गरेको छ । उसले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको भ्रमणका क्रममा त्यस्तो प्रस्ताव अघि सारेको हो ।
ढांकामा सम्पन्न भएको ‘पावर एण्ड इनर्जी सप्ताह’मा त्यहाँका ऊर्जामन्त्री नसरुल हमिदले लगानीका लागि इच्छा व्यक्त गरेका हुन् । यी दुई आयोजनाबाट १५ सय मेगावाटभन्द बढी बिजुली उत्पादन हुन्छ ।
गत साउनमा नेपाल र बंगलादेशबीच विद्युत् विकास तथा आदानप्रदान र प्राविधिक सहयोगमा सहकार्य गर्ने गरी ‘इनर्जी को–अपरेशन’ सम्बन्धी सम्झौता (एमओयू) भएको थियो ।
सम्झौतापत्रमा द्विपक्षीय आर्थिक तथा व्यापारिक विकासमार्फत क्षमता अभिवृद्धि गर्ने, विद्युत उत्पादन, ग्रिड कनेक्टिभिटी, ऊर्जा दक्षता, नवीकरणीय ऊर्जा तथा जलविद्युत विकासमा सहकार्य हुने उल्लेख छ ।
उक्त सम्झौता कार्यान्वयनका लागि ऊर्जा सचिव र सहसचिवस्तरीय समिति गठन भइसकेकाले काठमाडौंमा छिट्टै पहिलो सचिवस्तरीय बैठक बस्ने ऊर्जा मन्त्रीको सचिवालयले बताएको छ । तीनदिने बंगलादेश भ्रमण सकेर ऊर्जामन्त्री पुन आज स्वदेश फर्किएका छन् ।