झुटो आरोप लगाएको भन्दै एनसीसी बैंकका सञ्चालकले दिए राजीनामा |
काठमाडौं । एनसीसी बैंक लिमिटेडका सञ्चालक विष्णुप्रसाद धितालले हिजोको मितिबाटै लागू हुने गरी राजीनामा दिएका छन् । राष्ट्र बैंक र राज्य प्रशासनले झुटो आरोप र जालसाँजी रचेर आफूमाथि अन्याय गरिएको बताउँदै उनले बैंकको सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।
शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले एनसीसी बैंकका संस्थापक जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठ मिलेर एक अर्ब ५१ करोड रुपैयाँ बैकिङ कसुरको जालसाँजी रचेर आफूलाई फसाएको स्पष्ट पारेका हुन् ।
उनले भने, ‘मलाई बैंकका केही सीमित व्यक्तिको स्वार्थका कारण फसाइयो, मेराबारेमा जति पनि समाचार आए, ती सबै सूचनाहरु एकतर्फी थिए, सीआईबीले जे भन्यो त्यही मात्रै लेखियो, मेरोबारेमा मिडियाबाट कोही पनि साथीहरु जान्नसमेत आएनन्, मलाई ४ महिनाको अन्तरालमा विभिन्न झुटा मुद्दा लगाएर दुःख दिने काम गरियो, जेलभित्र गोली ठोक्छु भन्नेसम्मको धम्की दिइयो ।’
राज्यले आफूलाई आतंककारीको शैलीमा अपहरण गरेको सुनाउँदै उनले भने, ‘बोर्डको बैठकबाटै मलाई अनुसन्धानको नाममा ४ महिना जेलमा राख्ने काम भयो, मेरो मात्रै नभएर सिंगो कांग्रेसको समेत बद्नाम गराउने गरी गलत हल्ला फैलाइयो, मुटुको शल्यक्रिया गरेको स्थितिमा पनि अस्पतालमा जान दिइएन, प्रधानमन्त्री र अख्तियारले नछोड्नू भनेको भन्दै विभिन्न बहाना बनाएर अनुसन्धानको नाममा मलाई दुःख र यातना दिने काम भयो, म निरंकुशताको विरुद्धमा जेलजीवन भोगेको मानिस हुँ, मैले गल्ती गरेको छैन, यस्ता अन्यायपूर्ण कदमविरुद्ध निरन्तर लडिरहनेछु ।’
रारा विकास बैंक, रोयल मर्जेण्ट फाइनान्स र अपि फाइनान्सबीचको मर्जपछि बनेको एनसीसी बैंक मिलेर एपेक्स डेभलपमेन्ट बैंक निर्माण भएको बताउँदै धितालले आफूलाई षड्यन्त्रपूर्वक तरिकाले फसाइएको बताए ।
तत्कालीन गभर्नर तथा अहिलेका अर्थमन्त्री डा.युवराज खतिवडाको निरन्तरको प्रयासपछि एपेक्स डेभलपमेण्ट बैंक बनेको र त्यसमा पहिले नै समस्याहरू रहेको उनको भनाइ थियो । उनको भनाइ छ, ‘मर्जरअघि नै रोयल मर्चेण्ट संकटग्रस्त नै थियो, हुँदै नभएका र तथ्यहीन कुरालाई आधार बनाएर मलाई अनावश्यक दुःख दिने काम भएको छ । अध्यक्ष नहुँदैका समस्या र म आउँदा पछि पनि ब्याज र ऋण भुक्तानीका लागि अन्य बाटो हुँदाहुँदै पनि ममाथि पूर्वाग्रही रूपमा राष्ट्र बैंक प्रस्तुत भएको छ, अन्य केही बैंकले पनि ब्याज र लोन उठाउन बाँकी हुँदा पनि अरूलाई कुनै अनुसन्धान नगरिनु र मलाई मात्रै यसरी खेद्नुले प्रशासन र राष्ट्र बैंकमाथि शंका उत्पन्न गर्ने तमाम ठाउँहरु छन् ।’
धितालले भने, ‘२०६१ सालमा रारा विकास बैंक स्थापना हुँदा २५ लाख लगानी गरेको थिएँ, त्यसपछि विस्तारै बैंक मर्ज हुनेसम्म पुगियो, एनसीसीका संस्थापक सञ्चालकहरु जितबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठले बैंक मर्ज गराएको झोकमा राष्ट्र बैंक र सरकारका केही व्यक्तिहरुलाई गलत प्रभावमा पारी मलाई फसाएका हुन्, आजकै मितिबाट सञ्चालकमा नरहने गरी राजीनामा दिएको जानकारी गराउँदछु ।’