म्यानपावर कम्पनीलाई ११ बुँदे निर्देशनसहितको परिपत्र | अनुगमनमा निर्देशन मिचिएको भेटिए कारबाही गर्ने चेतावनी
काठमाडौं । सरकारको वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायलाई मर्यादित र ठगीरहित बनाउन भन्दै ११ बुँदे परिपत्र जारी गरेको छ । विभागले म्यानपावर कम्पनीलाई पारदर्शी, उत्तरदायी र मर्यादित बनाउन विभिन्न निर्देशनसहित पत्र काटेको हो । विभागले अनुगमन गर्ने क्रममा परिपत्रमा उल्लेख भएका निर्देशन तथा नियमहरू मिचिएको भेटिए कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।
हाल नेपालमा वैदेशिक रोजगारीमा नाममा विभिन्न प्रलोभन देखाई म्यानपावर कम्पनीले सर्वसाधारण युवायुवतीहरूलाई ठग्दै आएका छन् । सरकारले यसअघि बनाएको निःशुल्क भिसा र टिकटको नियम पनि लागू भएको छैन ।
उक्त परिपत्रमा वैदेशिक रोजगारीमा पठाउँदा कामदारहरूको व्यवस्थित अभिलेख राख्न भनिएको छ । कामदारसँग पासपोर्ट लिँदा कति समयसम्म म्यानपावरमा रहने हो सो अवधि खुलाएर र भर्पाइ गरेर कामदारलाई दिन व्यवस्था गरिएको छ ।
म्यान पावरहरूले शुरूमै आधाभन्दा बढी शुल्क लिने र महिनौं पासपोर्ट होल्ड गरेर कामदार ठग्ने क्रम बढेकाले त्यसलाई नियन्त्रण गर्न यस्तो निर्देशन जारी गरिएको विभागका एक अधिकारीले बताए ।
निर्देशनअनुसार अब म्यानपावरले विदेश पठाउन लागेका कामदारको अभिलेख सहजै प्राप्त हुने गरी राख्नुपर्नेछ । सबै गतिविधि वेबसाइट बनाएर अपडेट गर्नुपर्ने, नागरिक बडापत्र राख्नुपर्ने, सूचनापाटी तथा उजुरीपेटिका राख्नुपर्नेलगायतका नियम पनि विभागले बनाएको छ ।
साथै म्यानपावरका कर्मचारीलाई देखिने गरी परिचयपत्रसहित काम गराउनुपर्ने, कर्मचारीहरूको फोटो र विवरण देखिने ठाउँमा राख्नुपर्ने, भिजिटिङ कार्डमा कम्पनीको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्नेलगायतका नियम पनि बनाइएको छ । निर्देशनमा कार्यालयमा अनधिकृत मान्छेहरू पनि नराख्न उल्लेख छ ।