नेपाल–चीन ऐतिहासिक पारवहन यातायात सम्झौता, हट्यो अब भारतमाथिको निर्भरता |

काठमाडौं । नेपालले अब सामान आयात निर्यात गर्नका लागि भारतसँग निर्भर हुनु नपर्ने भएको छ । यसअघि नेपालले जुनसुकै सामान आयात या निर्यात जे गरे पनि भारतकै बन्दरगाह प्रयोग गर्न बाध्य हुनुपरेको थियो, जसले गर्दा विगत दुई वर्षअघि भारतद्वारा भएको अघोषित नाकाबन्दीमा नेपालीले ठूलो सास्ती बेहोर्नुपरेको थियो । अब पुनः त्यस्तो किसिमको सास्ती नेपालीले बेहोर्नु नपर्ने भएको छ । अब नेपालले छिमेकी देश चीनका बन्दरगाहबाट पनि सामान आयात–निर्यात गर्न सक्ने बाटो खुलेको छ । बुधवारदेखि काठमाडौंमा बसेको दुई देशका अधिकारीको बैठकले मध्यरातमा सोसम्बन्धी ऐतिहासिक सम्झौता गरेको छ ।
पारवहनका लागि नेपालले चीनसँग मागेका सडक मार्ग र बन्दरगाह उपलब्ध गराउन चीनले सहमति जनाएको छ । नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’ले अन्तिम रूप पाएसँगै त्यस्तो बाटो खुलेको हो । हिजो बिहीवार नेपाल–चीन पारवहन यातायात सम्झौतामा हस्ताक्षर भएको हो ।
नेपाल र चीनबीच २ वर्षअघि सन् २०१६ मा भएको व्यापार तथा पारवहनसम्बन्धी सम्झौतालाई कार्यान्वयन गर्न अहिले नेपालमा बैठक बसेको हो । प्रोटोकल टुंग्याउन यसअघि दुई वटा बैठक चीनमा भइसकेका थिए । पहिलो बैठक सन् २०१६ मा चीनको ल्हासामा भएको थियो भने गत जुनमा दोस्रो बैठक पनि चीनमै भएको थियो ।
पराराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, अर्थ मन्त्रालयका प्रतिनिधिसमेतको सहभागिता रहेको उक्त बैठकमा नेपालको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजूले गरेका थिए । चीनको तर्फबाट चीनको यातायात विभागमा महानिर्देशक वाङ सिपिङले नेतृत्व गरेका थिए ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्त परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालका साथै व्यापार प्रवद्र्धन केन्द्र र नेपाल इण्टरमोडेल ट्रान्सपोर्टेशन बोर्डका उच्च अधिकारीको सहभागिता रहेको मन्त्रालयले जनाएको छ । दोस्रो परामर्श बैठक गत असार २६ र २७ गते बेइजिङमा बसेको थियो ।
चीनका कुनकुन बन्दरगाह नेपालले प्रयोग गर्न पाउने ?
उक्त सम्झौताअनुसार नेपालले अब चीनका बन्दरगाहबाट सामान आयात–निर्यात गर्न सक्नेछ । नेपालले अब तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने त्यान्जिन, सेन्जेन, लियान्योन्गङ, झ्यान्यिङलगायतका खुला सामुन्द्रिक र ल्यान्झाउ, ल्हासा, सिगात्सेलगायतका सुक्खा बन्दरगाह उपयोग गर्न पाउनेछ ।