नेपालबाट ९ हजार मेगावाट विद्युत खरिद गर्ने बंगलादेशको घोषणा |

काठमाडौं । बंगलादेश सरकारले नेपालबाट सन् २०४० भित्र ९ हजार मेगावाट विद्युत खरिद गर्ने योजना सार्वजनिक गरेको छ । बंगलादेशको पावर, उर्जा र मिनरल रिसोर्स मन्त्रालय अन्तर्गतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट २०४० भित्र ९ हजार मेगावाट विद्युत आयात गर्ने उल्लेख छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन बंगलादेश भ्रमणमा रहेका बेला बंगलादेशले यस्तो योजना सार्वजनिक गरेको हो ।
ढाकामा बिहीबारबाट सुरु भएको पावर एण्ड इनर्र्जी विक सम्मेलनको उदघाटन समारोहमा बोल्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालबाट विद्युत आयात गर्ने योजना अघि बढेको भन्दै छिट्टै त्यसले मुर्त रुप पाउने बताएकी छन् ।
नेपाल र भुटानबाट विजुली आयात गर्ने आफुहरुको कोसिस रहेको बताउदै प्रधानमन्त्री शेख हसिनाले भनिन, ʽनेपालसँग यसैलाई मद्दत पुग्ने गरी हामीले गत महिना एमओयुमा हस्ताक्षर गरिसकेका छौ ।’ उनले बंगलादेश, भारत र भुटानबीच छिट्टै त्रिपक्षीय समझदारीमा हस्ताक्षर हुने जानकारी समेत दिइन्। । नेपाल र बंगलादेशबीच गत १० अगस्टमा इनर्र्जी कोअपरेशनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नेपालका उर्जा मन्त्री बर्षमान पुन र बंगलादेशका उर्जा मन्त्री नसरुल हमिदबीच उक्त समझदारीमा हस्ताक्षर भएको थियो ।
उर्जा मन्त्री पुनले नेपालमा उत्पादित विजुलीको लागी बजारको समस्या नपर्ने भन्दै नेपालको जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानीगर्न आग्रह गरेका छन्। । पुनले आगामी १० बर्षमा नेपालले १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको योजना रहको भन्दै आफुहरु बंगलादेशमा विद्यूत निर्यात गर्न तयार रहेको धारणा राखे ।