बन्द कारभित्र युवकको शव |
काठमाडौं । राजधानीको स्वयम्भू क्षेत्रमा भित्रबाट बन्द गरिएको कारमा एक जना युवकको शव फेला परेको छ । उक्त शव मकवानपुरको मार्खु–७ घर भई हाल नैकाप बस्दै आएका २६ वर्षीय श्यामकुमार श्रेष्ठको भएको प्रहरीले बताएको छ ।
तीनदिनदेखि स्वयम्भू हाइटको सडक छेउमा पार्किङ गरी राखेको कारबाट गन्ध आएपछि प्रहरीको क्यूआरटी टोलीले टर्च बालेर हेरेको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले भने, ‘क्यूआरटी टोलीले टर्च बालेर हेर्दा एक जना सुतिरहेको जस्तो देखियो, त्यसपछि सोधीखोजी र खोजतलास गर्दा युवक मृत भेटिएको हो ।’
प्रहरीका अनुसार श्रेष्ठको शव कारको पछाडि पट्टीको सिटमा घोप्टे परेको अवस्थामा भेटिएको छ । उक्त ठाउँमा बान्ता गरेको समेत पाइएको छ । चोटपटक कहीँ नलागेका मृतक श्रेष्ठले आफूले लगाउने घडी र गाडीको चाबी अगाडिको सिटमा राखेको पाइएको छ ।
शेयर कारोबारमा घाटा लाग्दै गएसि…
मृतक श्रेष्ठ शेयर कारोबारी भएको खुलेको छ । उनले सानै उमेरमा उल्लेख्य आम्दानी गरेका थिए । तर, पछिल्लो समय उनको कारोबार आरालो लाग्ने क्रममा थियो । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उनले धेरै मान्छेसँग ऋण लिएको पाइएको छ । उनको मोबाइल भदौ १८ गतेसम्म सञ्चालनमा रहेको छ ।
बवको पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको र वास्तविक विवरण पोष्टमार्टमपछि नै थाहा हुने प्रहरीले जानकारी दिएको छ ।