अपर तामाकोशी प्रभावित क्षेत्रका लागि शेयर भर्ने आज अन्तिम दिन |
काठमाडौं । अपर तामाकोशीले प्रभावित क्षेत्रका लागि निष्कासन गरेको शेयर प्राथमिक शेयर (आईपीओ) को निष्कासन तथा विक्रीको आज अन्तिम दिन हो । कम्पनीले प्रभावित क्षेत्र दोलखा जिल्लावासीको अनुरोधमा ५ दिन म्याद थप गरेर पनि आज सकिँदै छ ।
बुधवारसम्ममा एक लाख ९८ हजार आवेदकबाट लगभग ३ अर्ब रुपैयाँको आवेदन परेको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोषका रोशन जंग कार्कीले जानकारी दिए । कम्पनीले प्रभावित क्षेत्रका लागि १ अर्ब ५ करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गरेको छ ।
कम्पनीले साउन १६ गतेदेखि भदौ १६ गतेसम्मका लागि निष्काशन गरेको उक्त क्षेत्रका स्थानीय बासिन्दाको अनुरोधमा आजसम्म विक्री खुला गरेको थियो । प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम ३० देखि अधिकतम ३ सय कित्तासम्मको लागि आवेदन दिन पाउनेछन् ।