पोखरामा शुरू भयो सातै प्रदेशका मुख्य मन्त्रीको भेला |

पोखरा । सातै प्रदेशका मुख्य मन्त्रीको भेला आज बिहीबार पोखरामा शुरू भएको छ । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पोखरामा मुख्य मन्त्रीहरुको पहिलो भेला सुरु भएको हो । भेलामा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीबाहेक सबै उपस्थित छन् । सबै मुख्य मन्त्रीहरुले आपसमा हातमा हात मिलाएर बैठकको उदघाटन गरेका छन् ।
विशेष गरी भेलामा मुख्य मन्त्रीहरुले कार्य सम्पादनमा देखिएका समस्या, ठूला आयोजना, परियोजना र अनुदानको विषयमा छलफल हुनेछ । भदौ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा अन्तर परिषद बैठक बस्दैछ । परिषदको अघि हुन लागेको सातै प्रदेशका मुख्यमन्त्रीको भेलालाई अर्थपूर्ण रुपबाट हेरिएको छ । परिषदमा सातै प्रदेशको सामूहिक एजेण्डा बनाउने बारे छलफल हुने बताइएको छ ।
अधिकार, प्रादेशिक संरचना, कर्मचारी, आयोजना लगायतका विषयमा संघीय सरकार अनुदार बनेको प्रदेशका मुख्य मन्त्रीहरुले आरोप लगाई रहेका छन् । प्रदेश सरकारलाई अधिकार दिने विषयमा संघीय सरकारले कन्जुस्याइँ गर्दा बजेट कार्यान्वयनमै समस्या भएको उनीहरुको भनाई छ ।
भेलालाई स्वागत गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्रदेशले गति लियोस भन्ने आफुहरुको चाहना रहेको बताएका छन् । भेलामार्फत प्रदेशको विकासको गतिको पनि सुरुवात हुने उनको भनाई थियो ।